कविता : रात र अनिद्रा
कविता : रात र अनिद्रा

रमा सुवेदी

  • २१ भाद्र २०८०, बिहीबार प्रकाशित
  • अचेल मलाई
    रातसँग साह्रै डर लाग्छ
    हरेक रातले मसम्म
    निद्राबाहेक
    तिमीले कल्पना गर्न सक्ने
    नसक्ने सबैथोक ल्याउँछ
    बस्, त्यो एउटा
    निद्रा ल्याउँदैन
    कालो अँध्यारो रातले
    अनिदो आफूभित्रको
    ‘म’सँग
    डर भयङ्कर ल्याउँछ
    रात छिप्पिँदै गर्दा
    त्यो डर निक्खर
    झन् झन् झन् झन्
    कालो भएर आउँछ
    भ्यागुताहरूको ट्वार ट्वार
    किरा फट्यांग्राहरूको स्याइ स्याइ
    जुनकिरीको चित्कार
    न्याउलीको रुवाई
    लाखेको झ्याइँ झ्याइँ जस्तै
    चर्को बनेर
    डरलाग्दो शून्यता
    मन भित्रको कोलाहल
    अनिद्रासँगै भीमकाय
    बनेर आउँछ
    सारा जगत
    मस्त निन्द्रामा सुतिसक्छ
    तर, मेरो अनिदो आँखामा
    निद्राको ‘न’ पनि आउँदैन
    अरूको घुराई सुनेर,
    शान्तिको सास फेराई हेरेर
    जागाराम भएर बस्नु परेको
    अनौठो अनुभूति छ तिमीसँग ?
    मसँग त्यस्ता हजारौँ रात छन्
    जानै लागेको सास
    ब्युँतिन्छ कि भन्ने आशमा
    घाटमा कुरेको मान्छेझैँ
    म पनि हरेक रात कुरिरहन्छु
    अब त पक्कै आउँछ
    मलाई भेट्न
    मेरो प्यारो निद्रा भनेर
    बिहान निस्किएका सबैजना
    साँझ, अबेर रातसम्म
    घर फर्किसक्छन्
    तर वर्षौदेखि हिँडेको
    मेरो निद्रा
    अहँ फर्किएको छैन
    गायब छ ।
    अब त सायद आउने बाटो
    पनि भुलिसक्यो होला
    वा म भनेर अरु कसैको
    शरीरमा पो पस्यो कि
    मनमा चिसो पस्छ
    एक्कासि, फिरौतीका आशमा
    कसैले अपहरण गरेर पो
    राखेको छ कि ?
    मेरो प्यारो निद्रालाई
    कि कसैले बेचिदियो
    देह व्यापारीकहाँ
    कतै हात खुट्टा भाँचेर
    आँखा फुटालेर
    चोक अनि दोबाटोमा
    मगन्ते बनाएर पो
    फ्याकिदिएका छन् कि
    तिमीले अनिद्राले चुसेको
    कुनै मनुष्य देखेको छौं
    ठ्याक्कै पतेराले,
    चुसेको बोडीजस्तै
    हो, म ठ्याक्कै त्यस्तै छुँ
    तिम्रो कल्पनाभन्दा पनि डरलाग्दो
    निरश, चमकहीन मुहार
    आँखामा अनौठो शून्यता
    मस्तिष्कमा कोलाहल
    मनमा अशान्ति
    किनकि हरेक रातले
    मसम्म आइपुग्दा निद्राबाहेक
    सबैथोक ल्याउँछ
    सबैलाई निद्रा बाँडेर
    मसम्म आइपुग्दा
    रातसँग मलाई दिन
    निद्राबाहेक सबै थोक हुन्छ
    कता हरायो मेरो निद्रा
    अहिलेसम्म त आउनु पर्थ्यो
    कि मेरा आफ्नै
    अतृप्त इच्छाहरू
    अपुरा सपनाहरू
    अर्धमृत रहरहरूले
    थिचिएर निष्प्राण भएर,
    बसेका छन् कतै
    बेवारिसे अवस्थामा मै भित्र
    मैले नै चिन्न नसकेको हो कि ?
    औँसीको कुनै कालो रातमा
    घाँटी अँठ्याएर
    आफ्नै निर्मम हातले
    मैले नै
    प्रतिशोधमा
    मारेको हुँ कि
    मेरो प्यारो निद्रालाई ?

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play