विपिन कार्की स्टारर प्रतीक्षित फिल्म ‘एक भगवत् गीता’को मर्मस्पर्शी र सशक्त ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे ।
ट्रेलरले फिल्मको कथावस्तुलाई लिएर महत्वपूर्ण प्रकाश पारेको छ । अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटआई) र मधेशको कथावस्तुमा बनेको फिल्मले विभेद, समानता र न्यायको सन्देश प्रवाह गर्छ ।
विपिनको कमलामाई अवतारमार्फत निर्देशक झरना थापाले लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोजेकी छन् । समग्रमा यो बदलाको कथामा आधारित फिल्म हो । पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको देख्न सकिन्छ ।
सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत फिल्ममा चित्रण गरिएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ । जनकपुरको सेटिङमा खिचिएको फिल्ममा अनुरागमान सिंह कुँवर खलपात्रको चरित्रमा देखिएका छन् ।
सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको यो फिल्मको निर्मातामा सुहाना स्वयं छिन् । यसअघि ए मेरो हजुर जस्ता रोमान्टिक फिल्म निर्देशन गर्दै आएकी झरनाले यसमा चाहिं सामाजिक र राजनीतिक मुद्दालाई समावेश गरेकी छन् ।
‘एक भगवत् गीत’ भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।