फाइल तस्बिर
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन नेताहरूबीच भइरहेको मिलीभगत तोड्न सबै एक जुट हुन आह्वान गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले यस्तो आह्वान गर्दै भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न आजको आवश्यकता भएको बताए । पछिल्ला भ्रष्टाचार प्रकरणले बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लंग भएको उनको भनाइ छ ।
महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘भ्रष्टाचारका घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ?’ उनले विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएकाहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् ।
ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठूला भ्रष्टाचारका काण्ड बाहिर निस्किरहेपछि महामन्त्री थापाको यस्तो भनाइ आएको हो । उनले भ्रष्टाचार मौलाउनुमा ठूला नेताहरूले जिम्मेवार रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘बितेका वर्षहरूमा अख्तियार दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लंग भएको छ।’
पुराना घटना छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानुनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलमा काम गर्न यस्ता घटनारूले झकझकाइरहेको थापाले बताएका छन् । थापाले भनेका छन्, ‘तर यस्ता काण्डमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एकअर्कालाई तर्साउने, बन्दकोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ।’